फ्रि–भिसा र फ्रि–टिकटमा विदेश पठाऊ भन्दा म्यानपावरले पासपोर्ट फिर्ता गरे

काठमाडौं, पुस १ – नवलपरासीका बलराम भण्डारी अघिल्लो साता दुबई जानका लागि काठमाडौं आउनु भएको थियो । त्यसको एक साताअघि नै नयाँबानेश्वरको राजधानि इन्टरनेशनल म्यानपावर कम्पनीमा पासपोर्ट बुझाई सक्नु भएको थियो । म्यानपावरबाट अन्तरवार्ता, स्वास्थ्य परिक्षण र अभिमुखिकरण तालिमका लागि फोन आएपछि उहाँ आउनुभएको हो । अन्तरवार्ता दिन तयार भएपनि काम र लागतको बारेमा केहि पनि भनेका थिएनन् । बलरामले सोध्दा अरु प्रक्रिया सक्नुस् पछि कुरा गरौंला भनेका थिए । अन्तरवार्तामा पास हुनु भयो । स्वास्थ्य पनि ठिकै देखियो । त्यसपछि अभिमुखिकरण तालिमका लागि बालकुमारी तर्फ लाग्नुभयो । अभि मुखिकरणमा न्युनतम लागतको कुरा आयो थप बुझ्नु परेमा प्रवद्र्धन वोर्डमा फोन गर्नु भनेर नम्बर पनि दिए । उहाँले प्रवर्द्धन बोर्डमा फोन गर्दा १० हजार रुपैयाँ भन्दा वढि तिर्नु पर्दैन भने । न्युनतम लागत खर्चको कुरा म्यानपावरका कर्मचारीलाई सोध्नुभयो तर कार्यन्वयन भएको छैन् भन्दै सबैसँग एक लाख २० हजार देखि १ लाख ५० हजार रुपैयाँसम्म उठाएको वताए । तर बलरामले न्युनतम लागतमा पठाउन अनुरोध गर्नुभयो । मानेनन् पछि ५० हजार रुपैयाँ तिर्छु भन्नुभयो तरपनि म्यानपावरले भन्यो ‘पठाउन सक्दिँन जाने हो भने १ लाख २० हजार ल्याउनुस् नभए तपाईंको पासपोर्ट फिर्ता दिन्छु तपाईंको ठाउँमा अर्को मान्छे पठाउँछु ।’ बलरामको पासपोर्ट फिर्ता दिए । दुवईका लागि हिँडेका बलराम पासपोर्ट बोकेर घर फर्किनुभयो । न्युनतम लागतको कुरा गर्दा सबै प्रक्रिया पुरा गरेरपनि दुवईको बाटो बन्द भयो । सरकारले बढिमा २० हजार तोकेको हो तर ५० हजार तिर्छु भन्दापनि पठाएनन् । बलराम अहिले नवलपरासीमै हुनुहुन्छ । उहाँ भन्नहुन्छ, ‘न्युनतम लागतको कुरा त आफुजस्ता सोझा सिधालाई झुक्याउन गरिएको निर्णय रहेछ । नेपालमा न्युनतम् लागतमा विदेश पठाउने भनेर मुम्बईमा सुनेको कुरा हल्ला मात्रै रहेछ ।’ आखिर भयो पनि त्यस्तै । वैदेशिक रोजगार व्यसायीहरुले सरकारी निर्णय अटेर गरेर ठगि रहेका छन् । न्युनतम लागत खर्चमा विदेश पठाउने खवर सुनेपछि बलराम मुम्बईबाट दशैंमा घर फर्किनु भएको हो । त्यसअघि दाइसँग उतै काम गर्दै हुनुहुन्थ्यो । तर कमाई खासै नबचेपछि वैदेशिक रोजगारीमा जान घर फर्किनु भएको थियो । ठुलदाइ अझै उतै हुनुहुन्छ । बलराम भन्नुहुन्छ, ‘केहि हुन्छ कि भनेर जाने हो । म्यानपावरलाई बुझाउने डेढलाख भए किन विदेश जानु पथ्र्यो । यहि केहि गर्थेँ ।

,

0 comments

Write Down Your Responses