७३ वर्षीया तामाङ घरबाटै नागरिकता पाउँदा दङ्ग छिन्
चौतारा, २ पुस – विभिन्न कारणले सदरमुकाम जान नसकी नागरिकता लिन नपाएकी सिन्धुपाल्चोकको लिसंखु गाविसका ७३ वर्षीया सुनमाया तामाङ गाउँबाटै नागरिकताको प्रमाणपत्र लिन पाएकामा खुसीले गदगद भएकी छन् ।
जिप्रकाको संयोजनमा मङ्गलबार आयोजित एकीकृत घुम्ती शिविरबाट तामाङलाई गाउँबाटै नागरिकताको प्रमाणपत्र लिने मौका मिलेको हो ।
दोलखा जिल्लासँग सिमाना जोडिएको अत्तरपुर गाविसमा आयोजित सो शिविरबाट त्यस भेगका लिसंखु, ठूलोधादिङ, जेठलसहितका ३१० जनाले नागरिकताको प्रमाणपत्र लिएको सहायक प्रमुख जिल्ला अधिकारी भरतप्रसाद आचार्यले जानकारी दिए ।
उनका अनुसार राजधानीमा बस्दै आएका विभिन्न व्यक्तिले पनि गाउँमा शिविर बस्ने जानकारी पाएपछि गाउँ फर्केका थुप्रैले नागरिकता लिएका थिए । यसरी नागरिकताको प्रमाणपत्र लिनेमा लिसंखुका १४०, अत्तरपुरका ९५, ठूलोधादिङका ३२ र जेठल गाविसका ४३ जना छन् ।
ती गाविसका बासिन्दाले सदरमुकाम आवतजावत गर्न बढी समय लाग्नुका साथै खर्चिलो र झन्झटिलो अवस्था झेल्दै आएका थिए ।
जिल्ला स्वास्थ्य कार्यालय र गोरखबहादुर गणको संयुक्त आयोजनामा भएको घुम्ती शिविरमा २४५ जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा आठजनाको भिडियो एक्स–रे, एकजनाको परिवार नियोजन, आङ खसेका दुई महिलालाई रिङ्प्रेसरी लगाएको चौतारा अस्पतालका प्रमुख चिकित्सक सागर राजभण्डारीले बताए ।
घुम्ती शिविरमा १९ जनालाई अपाङ्ग परिचयपत्र वितरण गर्नुका साथै जिल्ला कृषि विकास कार्यालयबाट विभिन्न तरकारीका बीउबिजनसमेत वितरण गरिएको थियो ।
त्यसैगरी शिविरमा ६७ जनालाई सिन्धु बार एकाइबाट कानुनी परामर्शसमेत दिइएको थियो । शिविरमा जिल्ला पशुसेवा कार्यालयबाट प्राविधिक परामर्श, औषधि वितरण, पशु बन्ध्याकरण र गोबर परीक्षणसमेत गरिएको थियो ।

0 comments
Write Down Your Responses