भूकम्पपीडितहरु लेकबाट बेशीतिर

मंसिर २९, २०७२- भूकम्पले घर ढालेपछि चिसोबाट बँच्न पहाडी वस्ती चंखुबाट झरेका तेम्बा शेर्पा फुर्सदमा सिंगटी बजारका बदलिदो स्वरुप नियाल्छन् । हिमालको फेदमा रहेको चंखुमा चिसो बढ्दै गएपछि कटेराको बसाईँ असहज हुन थालेकाले उनी उत्तरको चर्चित बजार सिंगटी झरेका हुन् । भूकम्पले दोलखा जिल्लाको सबैभन्दा क्षेती भएको भनिएको सिंगटीमा सञ्चालित निर्माण कार्यमा काम गर्दै उनी गुजरा चलाउछन् । जस्ताको छाना भएको उनको कटेराबाट राती चुहिएको सीतले ओछ्यान भिज्छ । टाँड परेको चित्रा र काठका बारबाट छिरेको सिरोठोले ओठमुख सुक्छ । हिऊ पर्ने बेला भएकोले ज्यान बँचाउन सिंगटी झरेको तेम्बाको भनाई छ । ‘चिसोले बच्चा र परिवार बिरामी भैरहने समस्याले परिवारसहित सिंगटी झरेँ,’ तेम्बाले भने । करिब २५ सय मिटरबाट ओर्लिएर ११ सय मिटर उचाईमा रहेको सिंगटी बस्दा उनलाई सजिलै छ । हुन त स्थायी संरचना पूर्ण रुपमा ध्वस्त सिंगटीका सबैजसो नयाँ बनेका टहराहरु जस्तापाताकै छन् । निर्माणको चरणमा तीब्र गतिमा अघि बढेको सिंगटीमा दैनिक ज्यालादारी काम पाउने भएकाले तेम्बालाई न्यानोका साथै परिवार पाल्न सजिलै छ । सिंगटीमा करिब डेढ सय पसल राख्न मिल्ने कौलसहितको टहरा बनिसकेका छन् । अरु पनि धमाधम निर्माण कार्य भैरहेको छ । भूकम्पले अत्यधिक क्षेती पुर्‍याएको सिंगटीमा पनि चिसोको समस्या नभएको हैन । तर खोला किनारको बेशी भएकाले हिमाली र उच्च पहाडी क्षेत्रको जस्तो कठ्याङ्ग्रिने चिसो हुँदैन् । राती भने यो बजारको तापक्रम निकै तल झर्छ । सुनखानी केन्द्रविन्दु भएर बैशाख २९ गते गएको भूकम्पको झड्काले सिंगटीलाई तहसनहस पारेको हो । यो सुनखानीको छिमेकी क्षेत्र भएकाले पनि बढी क्षति पुगेको अनुमान छ । अहिले पुरानै स्वरुप र शैलीमा बजार बस्न थालेपछि उत्तरी क्षेत्रका उच्च पहाडबाट जाडो छल्न आउनेहरु यहाँ बढेको देखिन्छ । उपचारका लागि यो बजार ल्याउदै गर्दा गतसाता १९ बर्षिया सोनी तमाङको चिसोले निमोनियाबाट निधन भयो । लादुकको उच्च पहाडी इलाकाबाट ल्याइएको त्यो विरामीलाई चिसो गडेर निमोनिया देखिएको उनका आफन्तले बताए । मृतकको आफन्तहरुले घर छेवैको सरकारी स्वास्थ्य केन्द्रमा चिकित्सक नभेटिएपछि सिंगटी बजार ल्याउनु परेको दु:खेसो पोखे । युवा अवस्थामा चिसोले ज्यान गुमाउनु परेको दु:खद घटनाको रेकर्ड जिल्ला स्वास्थ्य कार्यालयसँग छैन । जिल्ला स्वास्थ्य कार्यालयलाई लादुकका स्वास्थ्यकर्मी तालिममा गएका बेला युवती विरामी परेको सम्म जानकारी छ । अत्याधिक चिसो हुने जिल्लाका उत्तरी क्षेत्रहरुमा स्वास्थ्यकर्मी नभेटिने गुनासो छ । औषधि पनि अभाव हुँदै गएकाले उत्तरका भूकम्प पीडितहरु झन दु:खको मारमा परेको बताउँछन् । स्वास्थ्यकर्मीहरु सम्बन्धित स्वास्थ्य केन्द्रमै बसेर काम गरिरहेको बताउँने जिल्ला स्वास्थ्य प्रमुख माधवप्रसाद लम्साल नाकाबन्दीले औषधि अभाव हुँदै गएको भने स्वीकार्छन् । राज्यको आधारभूत सुविधाबाट बञ्चित सिंगटी क्षेत्रका वासिन्दाहरु चिसोको मारसँगै स्वास्थ्य उपचार, स्तरीय शिक्षा, सरकारी सेवाबाट बञ्चित हुँदै गएका छन् । सिंगटी बजारमै पशु र कृषिका सेवा केन्द्रहरुमा कर्मचारी भेटिंदैनन् । दुवै सेवा केन्द्रका जमिनहरु भूकम्पपीडितहरु बसेका छन् । हिमाली र उच्च पहाडी इलाकाबाट झरेका उनीहरु आवश्यकता परे सेवा केन्द्रको जमिन छाड्न तयार छन् । जिल्ला कृषि कार्यालयका अनुसार कार्यालय भवन नभएकाले कर्मचारीहरु नियमित बसेर काम गर्न नसकेका हुन् । कृषिको नासुस्तरको कर्मचारी यहाँको सेवा केन्द्रमा छ तर उनी सदरमुकामबाट बेलाबेलामा आउने जाने गरेर सेवा केन्द्रको काम धन्छन् । सिंगटी जिल्लाको डेढ दर्जन गाविसको पायक पर्ने बजार हो । भूकम्प जानेवित्तिकै यो बजारबाट आवास र व्यापारिक भवनहरु छाडेर मानिसहरु हिडेका थिए । भूकम्पले भत्किएका घरहरुमा मृत मानिसका शरीर, पशुपक्षिंका मासु गन्हाएकाले विरक्तिदै विस्थापित मानिसहरु पुन: फर्किएर पुरानै व्यवसाय सञ्चालन गर्न थालेका छन् । सिंगटीबाट चर्चित माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, गौरीशंकर संरक्षण क्षेत्र र चर्चित पदयात्रा क्षेत्र रोल्वालिङ उपत्यकामा प्रवेश हुन्छ । त्यसैले जाडो छल्न र व्यवसाय सुरु गर्न भूकम्पपछि सिंगटीमा वसोवास गर्नेहरु बढिरहेका छन् । पीडाका बीच पनि बजारमा ठूला आवाजमा घन्काइएका गीतसंगीत सुन्दै मानिसहरु किनमेलमा देखिन्छ । करिब १५ जनाको ज्यान गएको, करिब २० जना सख्त घाइते भएको सिंगटीबाट विस्थापितहरु फर्किरहेको व्यापारी बुक्तम तमाङ बताउँछन् । अब यहाँ सबै खालका उपभोग्य सामाग्री पाउन थालिएको उनले बताए । करिब ५० हजार मानिसहरुको किनमेल गर्ने मूख्य बजार सिंगटीबाट सञ्चालन हुने कतिपय सडक मार्गहरु पनि विग्रेकाले समस्या छ । राहत सामाग्री ढुवानी गर्न र विरामी परेमा स्वास्थ्य केन्द्र आउन पनि समस्या छ । भूकम्पले क्षेती पुर्‍याएको लामावगरसम्मको मार्गमा अझै मोटर नचलेकाले तिब्बती सिमाक्षेत्रवासी अझै राज्यको सूचना र सेवाबाट बेखवर छन् । सिमा क्षेत्रका कतिपय वस्तीहरुमा गाविस सचिवसमेत पुग्न नसकेको अवस्था छ । सरकारी सेवासुविधाबाट वञ्चित कतिपय परिवार सिंगटी र कतिपय परिवार सदरमुकाम चिरकोट पनि आएका छन् । हिमाली र उच्च पहाडको घरगृहस्थी छाडेर आएका परिवार ज्यामि काम र सानोतिनो व्यवसाय सञ्चालन गरेर सदरमुकाममै बस्न थालेको पनि पाइएको छ । हिमाली जिल्ला दोलखाको हिमाली क्षेत्रहरु चिसोको मारमा परिसकेको छ । तर राज्यले न्यान्योका लागि दिने भनेको प्रति परिवार १० हजार रुपैयाँ अझै वितरण गर्न सकेको छैन् । गाविस सचिवहरु अपुरो रकम आएकाले वितरणमा समस्या देख्छन् । हाल सरकारले करिब ५० हजारलाई पुग्नेगरी ५० करोड निकासा गरेको छ । दोलखामा करिब ८५ करोड रकम आवश्यकता छ । प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले न्यानोका लागि निकासा भए जति सबै रकम जिल्ला विकास समितिमार्फत गाविसहरुमा पठाइएको बताए । थप रकमका लागि माग गरिएको तर कुनै जानकारी नआएको उनले बताए ।

, ,

0 comments

Write Down Your Responses