मंसिर २६, २०७२- सत्तारुढ एमालेका नेता, कार्यकर्ता र नातागोता चीन भ्रमणमा गएका छन् । एक महिनामै तीनवटा टोली चीन भ्रमणमा गएका छन् । तीमध्ये साताव्यापी भ्रमण पूरा गरेर एउटा टोली फर्किएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीसँगको कार्यकर्ता आदान प्रदान कार्यक्रम अन्तर्गत एमालेले पठाएको टोलीमा महासचिव ईश्वर पोखरेलले एकलौटी गरेका छन् । छलफल नगरी आफूनिकटलाई पठाएको भन्दै पार्टीभित्र असन्तुष्टि सुरु भएको छ ।
तीब्बत, बेइजिङलगायतको भ्रमणमा मंसिर १ गते गएको टोलीमा अधिकांश पोखरेलका नातागोता र उनको समूहका नेता कार्यकर्ता छन् । टोली तिव्वत, संघाई र वेजिङको विकासको अवलोकनका लागि चीन गएको हो ।
भ्रमण टोलीमा पोखरेलका कान्छा छोरा स्वराज, सांसद श्रीमती मिराका पीए लोकेन्द्र केसी, पोखरेलका सहयोगी नारायण सिलवाल, पोखरेलका सालाका छोरा सुरज ध्वजू, स्वकीय सचिव दीपेन्द्र श्रेष्ठका भाइ सविन्द्र, नेतृ मेनुका पछाईं छन् ।
महासचिव पोखरेलले व्यक्तिगत सिफारिसमा सामुदायिक वन उपभोक्ता महासंघकी महासचिव भारती पाठक, चितवनकी एमाले नेतृ पार्वती रावल, युवा संघका महासचिव किरण पौडेल, युवा संघका सचिव नरेश शाही, सचिवालय सदस्य रविन थापा, अनेरास्ववियुका कोषाध्यक्ष रश्मी आचार्य, प्रवक्ता आरसी लामिछाने, सचिवालय सदस्य समिक बडाल, अखिलका नेताहरू भाष्कर खनाल, हरि लिम्बू, एमाले रामेछापका सचिव आनन्द श्रेष्ठ, एमाले पर्साका सचिवालय सदस्य अरविन्द सिंह, एमाले पत्रकार रामशरण बजगाईं र पार्टी सचिव पृथ्वीसुब्बा गुरुङकी छोरी एसिला पनि गएकी छन् ।
एमाले पोलिटब्युरो सदस्य भानुभक्त ढकाल नेतृत्वको अर्को टोली मंसिर ९ गते सातदिने भ्रमणमा चीन पुगेर फर्किएको छ । भ्रमण टोलीमा माधव नेपालनिकट वैकल्पिक केन्द्रीय सदस्य माधव अर्यालबाहेक अधिकांश एमालेको संस्थापन समूहका छन् । संस्थापन समूहका वैकल्पिक केन्द्रीय सदस्य खेम लोहनी, केन्द्रीय सदस्य सुजिता शाक्य, बिना श्रेष्ठ, महासचिव पोखरेलका पीए दीपक केसी, कञ्चनपुरका एमाले नेता तारा लामा तामाङ, अछामका एमाले नेता शेरबहादुर कुँवर, धादिङ अध्यक्ष भूमि त्रिपाठी गएका थिए ।
यस्तै एमाले युवा नेता निरज आचार्य, पूर्वसांसद सुवास कर्माचार्य, भक्तपुर उपाध्यक्ष वचन देउजा, दोलखा अध्यक्ष ईश्वरचन्द्र पोखरेल, रामेछापका नेता कैलाश ढुंगेल, काठमाडौं सचिव विद्यासुन्दर शाक्य र अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्ल गएका थिए । उनी फर्किसकेका छन् । भूकम्प वेला एमालेले राष्ट्रिय स्वयं सेवक परिचालनको संयोजक गोकर्ण विष्टको नेतृत्वमा गरेको थियो । तर भूकम्पको अध्ययन गर्न चीन पठाउँदा ढकालको नेतृत्व पठाएको थियो । एमालेका दुई टोली चीन नपुग्दै पार्टी पोलिटब्युरो सदस्य लालबाबु पण्डित नेतृत्वको टोली बेइजिङ पुगेको छ ।
टोलीमा एमाले नेताहरू जगदीश कुसियत, भगवती चौधरी, श्रीप्रसाद साह, उपत्यका ईञ्चार्ज सानुकुमार श्रेष्ठ, गोरखबहादुर बोगटी, मना केसीलगायत पनि चीन पुगेका छन् । चीनबाट आएका भ्रमण निम्तो दुरुपयोग भएको भन्दै स्थायी कमिटी बैठकमै प्रश्न उठाइएको छ । नेताहरूले स्थायी कमिटी बैठकमा चीन भ्रमण टोली पठाउँदा छलफल नगरिएको भन्दै असन्तुष्टि जनाएका थिए । तर, महासचिव पोखरेलले अर्को बैठकमा छलफल गर्ने भन्दै तर्किएको स्रोतले जनाएको छ ।
प्रचार विभाग प्रमुखसमेत रहेका पार्टी सचिव योगेश भट्टराईले एकपछि अर्को टोली चीन गए पनि पार्टीको सिफारिस र निर्णय नभएको बताए ।
चीन भ्रमणमा एमाले नेताका नातेदार पनि
0 comments
Write Down Your Responses